हेटौँडा - बागमती प्रदेशसभामा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ । यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

हिजो पटकपटक बैठक सरेर राति ८ बजेका लागि तय भएको थियो । तर निर्धारित समयमा बस्न नसकेपछि आजका लागि आह्वान भएको हो ।

आइतबारदेखि नै मुख्यमन्त्री थापाले विश्वासको मत लिन खोजेका थिए । तर गठबन्धनभित्रै असन्तुष्टिसँगै समर्थन गरेको राप्रपामा पनि विवाद भएर अदालतसम्म मुद्दा दर्ता भएपछि समस्या भएको हो । यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विवाद टुंग्याएर मात्र विश्वासको मत लिने व्यवस्था गर्न माग गरेपछि सोमबार तय भएको कार्यक्रम सरेको हो ।

हिजो विश्वासको मत दिने बेला सत्ता साझेदार नेकपाका सात सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका थिए । मन्त्री बन्न नपाएको भन्दै असन्तुष्ट रहेका युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल, कृष्ण खनालसहित सात सांसद काठमाडौँमा रहेको बताइएको छ।