काठमाडौं - छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि प्रहरीको टोली पुगेको थियो। त्यसपछि विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

उनका अनुसार घटनाको अनुसन्धानका लागि म्याद थपका लागि शिक्षक अधिकारीलाई अदालतसामु उपस्थित गराउने तयारी पनि भएको छ ।

शिक्षक अधिकारीमाथि केही समययता कक्षा ११ र १२ मा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले लगाएका छन् ।