काठमाडौं - युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको छ । एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका मन्त्री गुप्तालाई अर्कोले ‘निम्तो नगरेको’ भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको थियो ।

मन्त्रीले बनावटी कार्यक्रम बनाएर अमेरिकाको भिसा लगाउन खोजेको आरोप लगाएपछि उनी ‘ब्याक’ भएका हुन् । मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृति प्रदान गरेको थियो ।

तर, विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई निमन्त्रणा पठाएको भन्दै विज्ञप्ति निकालेको थियो भने सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको थियो ।

तर मन्त्री गुप्ताले आफूले भिसा प्रोसेस नै नगरी मिडिया र सामाजिक सञ्जालमा विभिन्न आरोप लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । एक अनलाइनसँग अन्तर्वार्ता दिंदै उनले आफूले भिसा प्रोसेस नै नगरेको बताएका हुन् ।

भिसा नै प्रोसेस नगरेको अवस्थामा ‘तस्कर’ भनेर आरोप लगाएकोप्रति दुःख ब्यक्त गर्दै उनले आफूलाई सबै मिलेर लखेटेको बताएका छन् । आज एनआरएन केन्द्रबाट नै आधिकारिक विज्ञप्ति निकाल्ने बताउँदै उनले कुन सहि र कुल गलत भन्ने विज्ञप्ति आएपछि प्रष्ट हुने बताए ।

इन्भिटेसन आएकै भरमा अमेरिका जान लागेको छ, राज्यको पैसा दोहन गर्न लाग्यो भन्न पाइएन नि भन्दै उनले अमेरिकाबाट फर्केर राजीनामा दिन्छु भनेर नभनेको पनि दावी गरेका छन् ।

अब प्रोसेस चाहिँ गर्नुहुन्छ कि गर्नुहुन्न ? भन्ने प्रश्नमा मन्त्री गुप्ताले भनेका छन्–‘प्रोसेस त पहिले पनि माइन्ड सेट बनाएको थिएन । अहिले पनि बनाएको छैन । ताल पर्‍यो भने म राजीनामा दिएर जान सक्छु । नजान पनि सकिन्छ ।’