काठमाडौं - संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचनको मतदान सुरु भएको छ । १८ सदस्य निर्वाचनका लागि ६ दलले भाग लिइरहेका छन् । यो निर्वाचनमा ४५ जना उम्मेदवार पतिस्पर्धामा रहेका छन् ।
एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन् । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल फागुन २० गते सकिंदैछ ।
निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि सम्भवत आजै नतिजा आउनेछ ।
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन् । आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन् ।
निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।

.gif)



