काठमाडौं - धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो पहिलो घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा विद्यमान शासकीय संरचना, शिक्षा, अर्थतन्त्र र सुशासनमा व्यापक संरचनात्मक परिवर्तनका प्रस्ताव समावेश छन्।

पार्टीका अध्यक्ष साम्पाङले परम्परागत दलहरूको विकल्पका रूपमा ‘श्रम र उत्पादन’ आधारित राजनीतिक संस्कार स्थापना गर्ने उद्घोष गरेका छन् ।

पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङद्वारा सार्वजनिक घोषणापत्रमा शासन प्रणालीदेखि आईएनजीओ खारेजीसम्मका कडात्मक प्रावधान राखिएका छन्।

वर्तमान संसदीय व्यवस्थाले अस्थिरता बढाएको दाबी गर्दै पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ।

समावेशी सिद्धान्तअनुसार दुवै पद फरक लिङ्ग र जातिका व्यक्तिले सम्हाल्नुपर्ने बाध्यात्मक व्यवस्था घोषणापत्रमा समेटिएको छ। राष्ट्रपति ५ वर्षका लागि निर्वाचित हुने र अधिकतम दुई कार्यकालभन्दा बढी बस्न नपाउने भनिएको छ।

सांसदको भूमिकालाई ‘कानून निर्माण’मा मात्र सीमित गरिने र मन्त्री बन्नका लागि सम्बन्धित क्षेत्रमा विशेषज्ञता अनिवार्य गरिने प्रस्ताव गरिएको छ। यदि कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः खारेज हुनेछ। निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने उल्लेख छ।

शिक्षा क्षेत्रमा पार्टीले नौलो र कडा नीति अघि सारेको छ । विद्यालयमा हप्ताको ३ दिन मात्र सैद्धान्तिक पढाइ हुनेछ भने बाँकी ४ दिन विद्यार्थीलाई उत्पादन र साहित्य सिर्जनामा लगाइनेछ । कक्षा १२ सम्म जनोपयोगि सीप (खाना पकाउन र लुगा सिउन) अनिवार्य सिकाइनेछ ।