रिचार्ज गर्न र सिम एक्टिभ गर्न टेलिकमले ल्यायो नयाँ व्यवस्था
काठमाडौं - नेपाल टेलिकमले रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभ गर्न नयाँ व्यवस्था सुरु गरेको छ।
टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि *४१२# प्रयोग गर्न सकिने बनाएको हो । कम्पनीको जीएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।
यो सुविधाबाट अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ । कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्याण्ड लाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाईम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज नयाँ कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।
त्यसैगरी नयाँ सिम सुरु गर्न अहिले १४१५ मा कल गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी सेवा सुरु गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस्तै, पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्ने भएको छ । यसअघि प्रिपेड सेवाको प्रत्येक रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लाग्दै आएको थियो । अवदेखि पोष्टपेड सेवाका ग्राहकको प्रत्येक पटकको बिलिङमा २ प्रतिशत कर लाग्ने भएको छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस