झण्डै ७३ अर्ब लगानीमा हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने
काठमाडौं - हुम्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा उक्त आयोजना निर्माण हुन् लागेको हो ।
जसका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको प्रक्रिया अगाडि बढाइएको छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ ।
आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ । सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ ।
प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज एक सय १८ दशमलव ७० घनमिटर प्रति सेकेण्ड रहेको छ । आयोजनामा दुई वटा डाइभर्सन सुरुङ निर्माण हुनेछ । डाइभर्सन सुरुङको लम्बाई पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर रहनेछ । डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ ।
आयोजनाबाट सुक्खायामका छ सय नौ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा एक हजार एक सय ८४ दशमलव ८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ । आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् ।
आयोजना निर्माण चरणमा औसत १ हजार ८ सय ५ जना र सञ्चालन चरणमा १ सय १५ जनाले रोजगारी प्राप्त गर्नेछन् । आयोजनाको कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख बराबर रहनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस