काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ। 

नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिनुभएको हो । 

दुवै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएको उल्लेख गर्दै दल दर्ताको प्रकृया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताए । 

बहुराष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उनको भनाइ छ । ‘पार्टीले प्रयोग गर्ने भनिएको झण्डासमेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकाले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर पर्छ’, उनले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधान विपरित छ ।’ 

नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता प्रकृया रोक्न माग गरिएको अभिवक्ता ढकालले बताए । युवासंघ नेपालका सह-संयोजक रमेश पौडेलले जातिय रुपमा समाज विभाजित गर्ने, देशलाई खण्डखण्ड गरेर टुक्राउने चलखेल भइरहेकाले त्यसलाई रोक्न पनि दर्ता प्रकृया रोक्न माग गरे ।

बिहीबार राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भइ बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।