काठमाडौं - कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकिएको हो । 

न्यूज २४ टेलिभिजनमा मंगलबार साँझ सार्वजनिक भएकाे अडियोमा थुनामा रहेका तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै वकिल पोखरेलले न्यायाधीश कोइरालालाई भनेका छन् । जसमा कोइरालाले तामाङलाई धरौटीमा छाड्ने आँट गर्छु भन्न सक्दैनन् । उनकाे बाेलीमा केही डराएको जस्तो सुनिन्छ । तामाङ रिहा भएको विषय पत्रपत्रिकामा आएमा त्यसले आफ्नो जागिर जान सक्ने शंका पनि उनले गरेका छन् ।

तर, वकिल पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा बाेलेका छन् । अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ । 

सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो । अहिले तामाङ डिल्ली बजार जेलमा छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।

दिउँसो १ बजेका लागि तय भएको न्यायपरिषद्को बैठकमा सार्वजनिक अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ ।