काठमाडौं - पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था हटाएर सर्वसम्मत विधेयक पारित गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लाइसेन्सको प्रावधान हटाउन सहमति जनाएपछि सभाले सर्वसम्मतिले काउन्सिल विधेयक पास गरेको हो। उनले लाइसेन्सको प्रावधान पोर्चुगलमा मात्र रहेको र इटालीमा तालिम दिनेमात्र प्रावधान रहेको उल्लेख गर्दै लाइसेन्स लिने प्रावधान हटाउनु उपयुक्त हुने बताएका थिए ।

राष्ट्रिय सभा बैठकमा सत्तारूढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले लाइसेन्स लिनेसम्बन्धी व्यवस्थामाथि संशोधन दर्ता गराएका थिए ।