झन् बढ्यो तरकारीको भाउ
काठमाडौं - दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ ।
राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।
कलङ्कीमा भाडा लिएर परिवारसहित बस्दै आउनुभएकी भगवती घिमिरेको भान्सामा गएको असोजदेखि हरियो तरकारी कम पाक्न थालेको छ । उनले भनिन्, पहिले दुईथरि तरकारी, दाल र एउटा अचार अनिवार्य हुन्थ्यो अब चाडपर्वका दिनबाहेक अन्य दिन एउटै तरकारीले टार्ने गरेकी छु, यति गर्दा पनि सय रुपियाँको तरकारीले पाँच जनाको परिवारको छाक टार्न मुस्किल छ । अहिले काउली, बन्दा, मूला र सागको त सिजन हो तर त्यो छोइसाध्ये नै छैन के गर्ने रु यस्तै हुने हो भने त भाडामा बस्ने र सर्वसाधारण गरिबलाई त भान्सा चलाउनै समस्या भो घिमिरेले गुनासो गरिन्।
अहिले इस्कुस केजीको ४०/४५ रुपियाँ, मूला प्रतिकेजी ६० रुपियाँमा पाइन्छ तीेबाहेक अन्य कुनै पनि तरकारी सय रुपियाँ कम मूल्यमा पाइँदैन, सामान्य कमाई हुनेले काठमाडौँमा कसरी बाँच्ने कालीमाटीमा तरकारी किन्दै गरेका देवेन्द्र अधिकारीले भने। उनले भने, तरकारी नआएर भन्नु भने बजारमा पर्याप्त तरकारी देखिन्छ किन महँगो भएको बुझन गाह्रो भो ।
तरकारीको भाउ पनि पसलैपिच्छे फरक छ, कालीमाटीकै खुद्रा पसलमा तरकारीको भाउ एउटै छैन अन्य ठाउँमा फरक हुनु के नौलो भो र ? अधिकारीले भने।
कालीमाटीकै खुद्रा बजारमा सोमबार बिक्रीका राखेका तरकारीमध्ये प्याज प्रतिकेजी १६५ रुपियाँ, घिउसिमी १५५ रुपियाँ, बन्दा प्रतिकेजी १०० रुपियाँ, राजमा सिमी प्रतिकेजी ११० रुपियाँ, आलु प्रतिकेजी ६५ रुपियाँ, गोलभेँडा ठूलो प्रतिकेजी ७० रुपियाँ, मूला सेतो प्रतिकेजी ६० रुपियाँ, बोडी (तने) १२५ रुपियाँ, इस्कुस ५५ रुपियाँ, काँक्रो स्थानीय प्रतिकेजी १५५ रुपियाँ मूल्यमा कारोबार भइरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर क्षेत्रीले यो बेलामा बर्खे तरकारी सिजन सकिएको र हिउँदे तरकारी जति आउनुपथ्र्यो त्यति मात्रामा आउन नसक्दा महँगो भएको बताए। उनले भने, यस वर्ष गत वर्षभन्दा तरकारी महँगो हुनुको कारण दुईवटा हुन सक्छन्, एउटा भारतबाट आउने तरकारीमा विषादी परीक्षण कडा गरिनु र अर्को हिँदे तरकारी उत्पादनमा मौसमले साथ नदिएर ढिला गरी उत्पादन सुरु हुनु हो, विस्तारै मौसमी तरकारी आउन थालेपछि मङ्सिरमै घट्दै जान्छ ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस