काठमाडौं - पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा पूर्वमन्त्री तथा एमाले नेता राजकुमार गुप्ता र नयाँ शक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

उनीहरूलाई जग्गा हिनामिना गर्ने योजना सहित घूस लेनदेनको डिलमा संलग्न रहेको आरोप छ। सार्वजनिक भएको अडियो क्लिपमा पूर्वमन्त्रीहरू र बिचौलिया बीचको संवाद सार्वजनिक भएपछि यो प्रकरण गम्भीर बनेको थियो।

स्रोतका अनुसार, सोही प्रकरणमा अर्का पूर्वमन्त्री तथा एमाले नेता बलराम अधिकारी विरुद्ध पूरक अनुसन्धान जारी रहेको छ। आयोगले उक्त विषयमा थप प्रमाण संकलन गरिरहेको जनाएको छ।