काठमाडौँ – सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ । 

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो । 

विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल मौसमसमेतका कारण कृषि क्षेत्रको योगदानमा बढोत्तरी हुने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वर्षको लक्ष्य राखिएको छ । त्यो लक्ष्य पूरा गर्न अहिले गरिरहेको धान रोपाइँको ठूलो योगदान र महत्व रहने छ । 

नेपालमा नयाँनयाँ जातको धान विकास भइरहको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का अनुसार हालसम्म नेपालमा बढी उत्पादन दिने ८३ उन्नत धानका जात छन् । त्यसमा ४८ हाइब्रिड धानका जात सिफारिस भइसकेको छ । तीमध्ये धेरै धान नार्क आफैले उन्मोचन गरेको हो । कतिपय परम्परागत धान भने लोप भइसकेका छन् । १२ जातका धान अलोकप्रिय भई कृषकले लगाउन छाडिसकेका छन् । 

सिफारिस भइसकेको धानका लागि जल, मल, बलको व्यवस्थान हुन सक्यो भने पाँच वर्षमा धान उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्नेछ । बीउबिजनको दीर्घकालीन सोचअनुरूप बीउ विस्थापनदर २५ प्रतिशत पु¥याउन उन्नत जातको धान किसानको पहुँचमा पु¥याउन आवश्यक रहेको नार्कले जनाएको छ । धानको बीउ सिफारिस भए पनि किसानको पहुँचबाट टाढा रहेको नार्कको दाबी छ । 

कृषि विभागका अनुसार धानको जातीय विकासका लागि जिन बैङ्कमा वर्षौंसम्म सुरक्षित गर्न सकिन्छ । विभागका अनुसार नेपालको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा दुई हजार चार सय जातका धान छन् । देशभित्र मात्र होइन नेपालले देशबाहिर पनि धानको बीउ लगेर राखेको छ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान फिलिपिन्समा तीन हजार ४५०, जपानमा एक हजार २३८, भारतमा ५६०, दक्षिण कोरियामा ४२४, भुटानमा १५०, अमेरिकामा १२१, रसियामा ४० र अफ्रिकामा छ थरीका धान रहेको विभागले जनाएको छ ।

गोरखापत्र दैनिकबाट