मोरङ शिक्षक हत्या प्रकरण: सुराकीको आरोपमा टाउकोमा गोली हानी हत्या !
काठमाडौं - मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको छ । घटना मंगलबार बिहानको हो । श्रेष्ठ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सो घटना नेत्रविक्रम चन्द विप्लव समूहले घटाएको देखिन्छ । मृतकका परिवारका अनुसार उनलाई मंगलबार बिहान ६ बजे घरबाट चार/पाँच जनाको विप्लव समूहको कार्यकर्ताले उठाएर लगेका थिए । श्रेष्ठलाई उनकै घर नजिक रहेको बर्खे जंगलमा लगेर टाउकोमा गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई विप्लव समूहले पहिलेदेखि नै निशाना बनाइरहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । सुराकीको आरोपमा हत्या गरेको हुनसक्ने एक उच्च प्रहरी अधिकृतले जानकारी दिए ।
वडाध्यक्ष नरबहादुर राईका अनुसार सो क्षेत्र निकै विकट छ । 'यो क्षेत्र अलिक विकट ठाउँ भएकाले सुरक्षाकर्मीको आवतजावत कमै हुन्छ ।' राईले भने, 'त्यसकारण पनि विप्लव समूहको गतिविधि यहाँ धेरै हुने गरेकाे पाइन्छ ।' हत्या गरिएका शिक्षक श्रेष्ठ २०४५ सालदेखि सो स्कुलमा कार्यरत थिए।
फेसबुक पेज Like गर्नुहोस