काठमाडौं - अष्ट्रेलियामा फेरि एक नेपालीको डुबेर मृत्यु भएको छ । अष्ट्रेलियाको ब्रीजबेन नजिक सनसाइनकोष्टमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालको पर्वत घर भएका एक नेपाली रहेका छन् । गैरआवासीय नेपाली संघ कुइन्सल्याण्डका अनुसार डिपेन्डेण्ट भिसामा रहेका ४० वर्षिय युवाको पौडी खेल्ने क्रममा पट मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

उनले पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेको र त्यसपछि पानीमा खसेर बेपत्ता भएको बताइएको छ । मंगलबार साँझ ५ बजेतिर बेपत्ता ती पुरूषको शव साँझ ८ बजेतिर करिब ६ मिटर तल तलाउबाट प्रहरीले निकालेको थियो। मृतक आफ्ना चार जना साथीसँगै झरनामा पुगेका थिए।

स्थानीय प्रहरीहरुले घटनाको कारणबारे केही पनि बताएका छैनन् । मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर ल्याउने प्रहरीको भनाई छ ।

करिब ३ साता अघि पनि अष्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा एक नेपाली युवाको डुबेर मृत्यु भएको थियो । मोरङ जिल्ला घर भएका २३ वर्षीय सचेत बिमली नाम गरेका युवाको डुबेर मृत्यु भएको थियो । उनको दक्षिण सिड्नीस्थित रोयल नेसनल पार्कमा पौडी खेल्ने क्रममा उनको ज्यान गएको हो ।