दुर्गा प्रसाईँको रिट न्यायाधीश रेग्मीको इजलासमा सुनुवाइ हुँदै
काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रसाईँको रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।
सार्वजनिक शान्ति विरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई फागुन १७ गते प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो।
गत आइतबार मात्रै व्यवसायी प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसको विरुद्ध प्रसाईँ बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । ।
यसअघि प्रहरीले प्रसाईँमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै ४ फागुनमा पनि पक्राउ गरेको थियो ।
तर उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईं आदेश १३ फागुनमा रिहा भएका थिए ।
त्यसको ३ दिनपछि सार्वजनिक शान्तिमा खलल पुराएको आरोपमा पुनः पक्राउ परेका हुन् ।
प्रसाईँ समूह निर्वाचन बिथोल्न लागिपरेको भन्दै उनलाई होल्ड गर्न प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ । निर्वाचनको अवधिभर प्रसाईँलाई थुनामै राख्न सकिए निर्वाचन बिथोल्न उनले केही गर्न नसक्ने भन्दै सरकारले उनलाई थुनामै राख्ने तयारी गरेको हो ।
पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ । यससँगै प्रसाईँ हालसम्म १२ पटक प्रहरी हिरासत र थुनामा पुगिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस