क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै
काभ्रेपलाञ्चोक - यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ ।
दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन निर्माण गर्न थालेको हो ।
गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो ।
सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनःक्षतिग्रस्त बनाउँदै बगाएको थियो ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीनरचार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीले जानकारी दिए ।
उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनःनिर्माण गरिनेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस