काठमाडौं - काग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन् । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउन लागेका हुन् । देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट सकिँदै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने चौधौं महाधिवेशनको तयारी गर्नुपर्ने बेला विभाग गठनतिर लागेको भन्दै असन्तुष्टि जनाएका छन् । देउवाले उनीहरूसँग सहमति जुटाउन उपसभापति विमलेन्द्र निधिलाई खटाएका छन् । नियमित समयमा महाधिवेशन गर्न नसकिने र विधानअनुसार कार्यकाल एक वर्ष बढाउने करिब निश्चित भएकाले सहमति नजुटे पनि पार्टीका निकायहरूलाई पूर्णता दिने देउवाको तयारी छ ।

निधिले शनिबार वरिष्ठ नेता पौडेलसँग यस विषयमा छलफल गरेका थिए । पौडेलनिवास बोहराटारमै पुगेर निधिले सभापति देउवाको प्रस्ताव सुनाएका थिए । पौडेलले पनि आफूले यसअघि प्रस्तुत गरेको ९ बुँदे प्रस्ताव स्मरण गराएका थिए । देउवाले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागसहित बहुमत आफूले राखेर अन्य विभाग रोज्न पौडेललाई निधिमार्फत प्रस्ताव गरेका छन् ।

त्यस्तै नेविसंघ र तरुण दलमा सभापतिसहित बहुमत सदस्य लिने देउवाको प्रस्ताव थियो । संघमा सभापतिसहित पदाधिकारीमा तीन महामन्त्री राख्ने र तीमध्ये संस्थापन, पौडेल र सिटौला पक्षले एकरएक महामन्त्री लिनेबारे समेत छलफल भएको थियो । निधिले विभाग, नेविसंघ र तरुण दलमा राख्ने व्यक्तिहरूको नामावलीसमेत पौडेलसँग मागेका थिए । कान्तिपुर दैनिकबाट