काठमाडौं - पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका ७० वर्षिय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको हो ।

दुवै मिर्गौलामा समस्या आएर पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका लामालाई सोमबार पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । निमोनिया भएका उनलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

ज्वरो आएको करण उनको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो ।

लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर, २०६४  सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए। 

उनै लामा २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये एक थिए। त्यो बेला नख्खु जेलमा झापा विद्रोहका नेताहरूमा उनीसहित सीपी मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल, माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपानेलगायत १५ जना थिए।