काठमाडौं - सवारी दुर्घटनामा परी घाइते भएका नेकपा ९माले० महासचिव सीपी मैनालीको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

नेता मैनालीको उपचार काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भइरहेको छ । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकले बताएका छन् ।

मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले चिकित्सकको हवाला दिँदै, ‘‘अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ । सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन” भने ।

मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिए। प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उनका अवस्था सामान्य देखिएको छ। ‘‘अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहनुभएको छ”, उलने भनेका छन् ।

भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली बीपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा परेका थिए ।

उनी सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो। दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि घाइतेलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो।