काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । 

पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापतिसमेत रहेका देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् । 

‘एमसीसीबाट आउने रकम ऋण होइन, अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन् । 

आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।