काठमाडौं - संघीय राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाले नेपाली भूमिबाट सेना फिर्ता लैजान प्रधानमन्त्रीको आग्रह, जिल्लाभर आगो लगाइदिने आलमको धम्की, आश्रयस्थलबाटै ९ शिशु गायब, आलमविरुद्ध मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा, १२ मेडिकल कलेजमाथि छानबिन तीनमा छापालगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको कान्तिपुर दैनिक लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि मिचेर बसेका सेना फिर्ता लैजान छिमेकी मुलुकलाई आग्रह गरेका छन् । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा देखाएपछि तीव्र विरोध भइरहेको छ । यही सन्दर्भमा ओलीले आइतबार पहिलोपटक सार्वजनिक कार्यक्रमबाटै नेपालको अतिक्रमित भूमिबाट सेना हटाउन आग्रह गरेका हुन् ।

कान्तिपुरमै, बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट २ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै मान्छे मार्ने धम्की दिएको भिडियो प्राप्त भएको छ । २ मिनेट २४ सेकेण्डको भिडियोमा उनले यसो भनेका छन्ः

आलमः तपाईले मला्ई ठट्टा ठान्नु भा’छ ?

प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौ हजुर? माननीयज्यूलाई हामी सम्मान गर्छौँ । जयनेपाल, नमस्कार भनेका छौँ ।

आलमः (गाडीमा हात बजार्दै) हँ, यो जिल्लामा आग(आगो) लाग्छ, आग ।

प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवार हो नी ।

आलमः यो जिल्लामा आग (आगो) लाग्छ तपाईँ हेर्दै जानुस् । भारतबाट मानि (उनी आफ्नो मोबाइल फोन गर्छन्)

प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।

आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईँको के होरु म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईले।

प्रहरीः हैन माननीयज्यू ।

आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ । ।।।

अन्नपूर्ण पोस्ट् दैनिक लेख्छ, गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ। तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती रु हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ ।

अन्नपूर्णमै, विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासले नेपाल आउने विदेशीलाई तीन किसिमका भिसा स्टिकर वितरण गर्छन्। त्यसबापत विदेशी मुद्रा आर्जन हुन्छ। तर, कति आम्दानी र खर्च हुन्छ भन्ने यकिन विवरण सरकारसँग छैन। यसबारे संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ।

नागरिक दैनिक लेख्छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो ।

नागरिकमै, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ । एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ। एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन ।

नयाँपत्रिका दैनिक लेख्छ, आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । आइतबार उनको सरुवा भएको हो । असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए । आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौं आएका थिए ।

राजधानी दैनिक लेख्छ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका १२ वटा निजी मेडिकल कलेजमाथिको छानबिनको प्रक्रियालाई तीब्र पारेको छ । छानबिनका क्रममा आवश्यक कागजात दिन अस्विकार गरी असहयोग गरेको भन्दै विभागले आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । विभागले बीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।