प्रधानमन्त्री ओलीले गरे आचारसंहिता उल्लंघन, बादललाई भोट दिन निर्देशन
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मौनअवधिमा भोट हाल्न निर्देशन दिएका छन् ।
आचारसंहिता विपरित ओलीले बिहिबार हुन लागेको वागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भोट हाल्न निर्देशन दिएका हुन् ।
निर्वाचन आयोगले जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि लागू गरेको थियो । यो अवधिमा सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचार–प्रसार गर्न नहुने, समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ ।
‘यस अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्ज तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उमेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरु पालना गर्नरगराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तर, ओलीले बुधबार विज्ञप्ती नै जारी गरी सबै नेता–कार्यकर्तालाई पार्टीको आधिकारिक उमेदवार बादलको पक्षमा भोट हाल्न निर्देशन दिएका हुन् । उनले बादललाई जिताए कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा बल पुग्ने बताए ।
‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ, उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’ ओलीले भनेका छन् ।
‘अग्रजहरुले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम् विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरुबाट कमजोर पार्ने प्रयासहरु पनि हुँदै आएका छन्, ती सबै प्रयाशलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छ । अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कत्र्तव्य हो । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।’ विज्ञप्तीमा उल्लेख छ ।
बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो। बादलको प्रमुख प्रतिस्पर्धी खिमलाल देवकोटा हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्षलगायतको समर्थन उनलाई छ ।
फेसबुक पेज Like गर्नुहोस