राहत कुर्दै हुम्लाका आगलागीपीडित
काठमाडौं - आगलागीबाट घर जलेपछि सर्केगार्ड गाउँपालिका–७, रोडिकोटस्थित ठूलागाउँकी ६० वर्षीया दृष्टिविहीन मसिर जैसीको परिवारले आफन्तको घरमा शरण लिइरहेको छ ।
उनका छिमेकी जोखे जैसी पनि एकसरो लुगासहित आफन्तको गोठमा बसिरहेका छन् । गाउँमा बुधबार साँझ भएको आगलागी बिहीबार बिहान मात्र नियन्त्रणमा आउँदा ५ घर पूर्ण रूपमा नष्ट भएका छन् भने १५ घरमा क्षति पुगेको छ । ‘न खाने अन्न बच्यो, न लत्ताकपडा नै,’ जैसीले भनिन्, ‘कसैले राहत दिएनन्, आफन्तको घरमा कति दिन शरण लिएर बस्ने ?’ उनको पाँच जनाको परिवार छ ।
प्रहरीका अनुसार अभिभावकहरू नजिकैका सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका बेला बालबालिकाले खाना पकाउने क्रममा आगलागी भएको थियो । ‘वनबाट आउँदा घरमा भएका सबै सामान र नगद जलिसकेको थियो,’ जैसीले भनिन्, ‘तत्कालका लागि कसैले खाना र अस्थायी बासको व्यवस्था मिलाए पनि पुण्य हुन्थ्यो ।’
आगलागीबाट ११ लाख रुपैयाँबराबर क्षति भएको उनले गुनासो गरिन् । आगलागीपीडित जोखे जैसीले सरकारी राहत नपाउँदा आफूहरूको बिचल्ली भएको बताए । उनको ११ जनाको परिवार छ । ‘एक त परिवारको छाक टार्न समस्या थियो,’ उनले भने, ‘आगोले भएका सबै सम्पत्ति नष्ट गर्यो, अब कसरी परिवार पाल्ने ?’ आफन्तको घरमा बास नपाइएपछि ५५ वर्षीय हरिभक्त जैसीले जलेको घरनजिकै त्रिपाल टाँगेका छन् । ‘पहिलेदेखि नै गरिब थियौं, अब त झन् आगोले उठीबास लगायो,’ उनले भनिन्, ‘राहत लिएर आउँछौं भनेका जनप्रतिनिधि फेरि फर्केर आएनन्, छाक टार्नै समस्या भयो ।’
ठूलोगाउँमा १ सय २२ घरधुरी छन् । अधिकांश घरहरू जोडिएकाले आगलागीबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ६० लाख रुपैयाँको क्षति भएको प्रहरी निरीक्षक सीताराम विष्टले बताए । उनका अनुसार जोखे जैसी, हरिभक्त जैसी, अपिलाल जैसी, देवीसिंह जैसी, रूपकला जैसी र मथन जैसीको घर पूर्ण रूपमा नष्ट भएको छ ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस