तनहुँ - सदरमुकाम दमौली बजार आज मंगलबारदेखि लागु हुने गरी हप्ताको चार दिन तीन घण्टाका दरले खुल्ने भएको छ । यसअघि दैनिक समयावधि तोकी पसल खुलाउने गरे पनि मानिसको चहलपहलमा वृद्धि हुँदै गएपछि न्यूनीकरणका लागि समयावधि घटाइएको हो ।

व्यास नगरपालिका बजार अनुगमन समितिले यही जेठ ६ गतेदेखि लागु हुने गरी हरेक हप्ता सोमबार, मंगलबार, बुधबार र बिहीबार बिहान ११ देखि अपराह्न २ बजेसम्म दमौली बजार क्षेत्र खुला राखिने निर्णय गरेको समितिका संयोजक एवं नगर उपप्रमुख मीरा जोशीले जानकारी दिए ।

क्वारेन्टिनमा बस्ने बढ्दै

पछिल्लो समय क्वारेन्टिनमा बस्ने पुनः उकालो लाग्न थालेको छ । शून्य अवस्थामा पुगेको तनहुँमा कोरोना संक्रमित रेडजोनबाट मानिस आआफ्नाघर आउने क्रम जारी रहेपछि क्वारेन्टिनमा बस्नेको संख्यामा वृद्धि भएको हो । जिल्लामा हाल दुई महिलासहित ४३ जना क्वारेन्टिनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

तनहुँमा हालसम्म ५८६ पुरुष र ८२ महिलाको आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पाँच जनाको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताए । त्यस्तै जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४९३ महिलासहित एक हजार ९०७ जनाको तापक्रम मापन गरिएको बताइएको छ ।