काठमाडौं,बुटवल - बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । उक्त व्यक्तिको चिउँडोमा गोली लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । यद्यपी, घाइतेको पहिचान भने भैसकेको छैन।

गैंडाको खाग तस्करहरु बसिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा मारेको थियो । प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा एक जनालाई गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीले जनाएको छ ।