एजेन्सी - पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा इरान र अमेरिकाबीच जारी उच्चस्तरीय प्रत्यक्ष वार्ता दोस्रो दिन आइतबार पनि निरन्तर जारी रहेको छ।

१५ घण्टाभन्दा लामो छलफलपछि वार्ता निर्णायक मोडतर्फ उन्मुख देखिएको छ, यद्यपि दुवै पक्षबीचका गहिरा मतभेद अझै समाधान हुन बाँकी छन्।अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै वार्ता जारी रहेको पुष्टि गरेका छन् भने इरानी पक्षले पनि ‘केही बाँकी मतभेद भए पनि संवाद नरोकिने’ स्पष्ट पारेको छ।

‘इस्लामाबाद वार्ता’ अन्तर्गत भइरहेको विज्ञ-स्तरीय छलफलमा आर्थिक, सैन्य, कानुनी र आणविक विषयहरूमा गहन बहस भइरहेको छ। दुवै पक्षले लिखित प्रस्तावहरू आदानप्रदान गरेका छन्। मुख्य एजेन्डामा इरानको आणविक कार्यक्रम, अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय, विदेशमा रोकिएको सम्पत्ति फिर्ता, र लेबनन मा इजरायल को आक्रमण प्रमुख रूपमा उठाइएको छ।

यो वार्ता फेब्रुअरी २८ देखि सुरु भएको इरान–अमेरिका द्वन्द्वबीच कायम दुई हप्ते युद्धविरामकै क्रममा भइरहेको हो। वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गरेका छन् भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद् सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्।

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियान ले सामाजिक सञ्जालमार्फत आफ्नो टोली देशको हितमा दृढ रहेको र ‘साहसपूर्वक वार्ता गर्ने’ विश्वास व्यक्त गरेका छन्। वार्ताअघि पाकिस्तान का प्रधानमन्त्री शहबाज शरीफले दुवै पक्षसँग छुट्टाछुट्टै भेट गर्दै इस्लामाबाद वार्तालाई क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका थिए। उनले पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

वार्तामा इरानले लेबनन मा इजरायली आक्रमण तत्काल रोक्नुपर्ने, साथै आफ्नो झन्डै ७ अर्ब डलर बराबरको रोकिएको सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ।अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘सीमित विकल्प मात्र बाँकी’ रहेको चेतावनी दिँदै वार्ता असफल भए सैन्य विकल्प प्रयोग हुनसक्ने संकेत दिएका छन्।