सुुदूरपश्चिममा भट्टको प्रभाव
काठमाडौं,धनगढी - नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ७० हजार संख्यामा जनसहभागिता जुट्यो। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले।
सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार धनगढी उतारेका थिए। र, यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराए।
माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्थे। पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन। सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल। दाहालकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको पाएपछि उनी असन्तुष्ट बनेका थिए।
पार्टी एकीकरणको अढाई वर्षपछि मात्रै भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै ओलीले भट्टलाई साथ लिएका थिए। रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो। त्यसपछि दुई नेताको राजनीतिक धार बदलियो। रावल ओलीका कट्टर विरोधी बने।
भट्ट दाहालको प्यानल त्यागेर ओलीनिकट भए। पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए। भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज हुन्। नेता भट्टले २०६४ को संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए। उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएका थिए।
‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह र भारतसँग अन्तदेशीय नाकाको विस्तार बाहेकको विकल्प थिएन। अझ नेपालको उत्पादन भारतमा लैजान र भारतसहित तेस्रो मुलुकको उत्पादन नेपालमा सहज रूपमा भित्र्याउन सुख्खा बन्दरगाहको कुनै विकल्प थिएन। त्यसैले ०६४ सालमै मैले सुख्खा बन्दरगाह भनेको हुँ’, नेता भट्टले भने।
त्यसले चाँडै मूर्तरूप पनि लिँदै छ। कञ्चनपुरको महाकाली नगरपालिका–२ दोधारा चादनीमा मन्त्री भट्ट स्वयंले सुख्खा बन्दरगाहको शिलान्यास गरिसकेका छन्। यो दुई वर्षमा बनिसक्ने तयारी छ। भारतले उसको चम्पावत जिल्लामा पर्ने जोडबुडा नदी हँुदै गडीगो भएर नेपालको चाँदनी नजिकै सुख्खा बन्दरगाहका लागि प्रवेश विन्दु तोकेको छ। ‘नेपालले महाकालीमा बनाएको चार लेनको सडक र त्यस नजिकै नेपाल–भारतका एकीकृत भन्सार चौकीले पनि नेपालको विकासमा टेवा पुग्छ। अझ त्यसमा अन्तरदेशीय व्यापार र आर्थिक क्षेत्रको पनि तयारी भइरहेको छ’, नेता भट्टले भने।
कैलालीको डुँडेझारीमा विशेष औद्योगिक क्षेत्र, धनगढी–अत्तरिया सडकमा औद्योगिक करिडोर, कञ्चनपुरको दैजीमा विशेष आर्थिक क्षेत्रका लागि सुरुदेखि नै लडेका भट्टको त्यो सपना पनि पूरा हुँदै छ।
अन्नपूर्ण पोस्ट दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस