चार न्यायाधीशको रायमा सहमत हुन्छु, तर इजलासबाट हट्दिनँ : प्रधानन्यायाधीश
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्न बसेको इजलासबाट नहट्ने भएका छन् ।
शुक्रबार रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाएका थिए । तर, प्रधानन्यायाधीश जबराले आफू कसैको दबाबमा नपर्ने बताउँदै इजलासबाट नहट्ने बताएका हुन् ।
प्रधानन्यायाधीश संवैधानिक परिषदको पदेन सदस्य रहने भन्दै अर्यालले स्वार्थ बाझिने मुद्दाबाट प्रधानन्यायाधीश अलग रहनुपर्ने बताएका थिए । जवाफमा जबराले इजलासमा रहेका चार जना न्यायाधीशको रायमा आफ्नो सहमति हुने बताए । ‘तपाई विश्वस्त हुनुस्, चार जनाले दिएको रायमा म पूर्ण सहमत हुन्छु, तर संवैधानिक इजलासबाट हट्दिनँ ।’ उनले भने । अर्यालले जबरालाई बिदामा बस्नसमेत सुझाव दिएका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
फेसबुक पेज Like गर्नुहोस