बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं - नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
साेमबार किनरारा एकेडेमी ओभलमा १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालकी सीता रानामगरले ४ रन र कविता जोशीले ३ रन जाेडिन् भने ८ रन नेपालले अतिरिक्त पायो ।
बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् भने सशिकल प्रकाश २ रन तथा प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।
नेपालकी कविता कुँवर र सबनम राईले समान २/२ विकेट लिए ।
खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७/७ ओभरको मात्र भएको हो ।
नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस