काठमाडौं - सरकारले जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार खाताबाट यस्तो सामान मिनाहा गर्ने र कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय भएको छ ।

केन्द्रका हकमा सहरी विकास मन्त्रालय र जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी त्यस्तो समितिले यो काम गर्ने निर्णय भएको छ ।

आन्दोलनमा भएको क्षतिको आकलन गर्नसमेत सरकारले समिति बनाउने निर्णय गरेको बताइएको छ । यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको सम्पत्तिको पुननिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्नका लागि नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरूले विभिन्न किसिमका राहतका सुविधाका कार्यक्रमहरु सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बीमाबाट अग्रिम रूपमा ५० प्रतिशतसम्म क्षतिको ५० प्रतिशतसम्म अग्रिम रूपमा बीमा कम्पनी दिनुपर्ने गरी बीमा प्राधिकरणले व्यवस्था गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ।