काठमाडौं - काठमाडौं मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रञ्जन खड्कालाई पक्राउ गरेको हो ।

घटनामा यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरेको थियो । विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सबितालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रामण भएको थियो । सबिता गत चैतमा पक्राउ परेकी थिइन् ।

विनोद भने १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए । हाल पक्राउ परेका रञ्जन, विनोदका मामाका छोरा हुन् । रञ्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन् ।