काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीसहितको सरकारी टोली र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता सुरु भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रसाईंनेतृत्वको टोलीसँग सरकारी टोलीको वार्ता सुरु भएको हो ।

प्रसाईँले सरकारसँग राजसंस्था पुनस् स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन्। प्रसाईँले उक्त मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिँदै आएका छन् ।

प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सारेपछि प्रधानमन्त्रीले चुनावको वातावरण बनाउनको लागि वार्ताबाटै निकास निकाल्न पहल थालेकी हुन्।

यसअघि पुस १५ गते प्रधानमन्त्री कार्कीसंग प्रसाईं समूहले वार्ता गरेको थियो।

प्रसाईंसँगको उक्त भेटमा प्रधानमन्त्री कार्कीले देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र जनताबाट अनुमोदन प्राप्त गर्ने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरेकी थिइन् ।

त्यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको थियो।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षसँग निरन्तर वार्ता र संवाद गरिरहेको छ।