काठमाडौं - नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरलरकन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अवैतनिक कन्सल जनरल र कन्सल सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम शुक्रबार यो निर्णय लिइएको हो ।

‘साथै, निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरुपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको हो,’ परराष्ट्रले भनेको छ ।

हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने मन्त्रालयले जनाएको छ ।