काठमाडौं - गृहमन्त्री सुदन गुरुङले सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)को मुख्यालय निरीक्षण गरेका छन् ।

मंगलबार गृहमन्त्री गुरुङ हलचोकस्थित एपीएफको मुख्यालय निरीक्षण गरेका हुन् ।

मुख्यालय निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितको टिमसँग पनि छलफल गरेका छन्। 

छलफलमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।

साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालय, नक्सालमा निरीक्षण गरेका थिए । कार्यालयको निरीक्षण भ्रमण गर्दै उनले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताएका थिए ।

सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको भन्दै आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न पनि निर्देशन दिएका थिए ।

यसअघि शनिबार जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुर, सातदोबाटोस्थित प्रहरी वृत्त र रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरेका थिए।