काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्। पछिल्लो केही हप्तायता कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिएपछि ओली सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन् ।

भारतबाट आएका नागरिक र जोखिम बढेको स्थानमा सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्ट्रपति कहाँ गएको स्रोतले बताएको छ । सेना परिचालनको बारेमा राष्ट्रपति, प्रधानमन्त्री र चार वटै सुरक्षा निकायका प्रमखुहरुबीच छलफल भइरहेको छ । 

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २६७ (४)मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमासमेत परिचालन गर्न सकिने उल्लेख छ । सेना परिचालन गर्न मन्त्रिपरिषदबाट पठाएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिने छ।