काठमाडौं - मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे सर्वोच्च अदालतले प्रहरीसँग लिखित जवाफ मागेको छ।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको हो।

गत बिहीबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोली प्रसाईंको घरमा पुगेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले घरबाट ६ वटा मोबाइल, एउटा ल्यापटप र सीसीटीभीको रेकर्डर डिभाइस नियन्त्रणमा लिएको थियो। अपराध अनुसन्धान कार्यालयका अनुसार बरामद गरिएका ती विद्युतीय उपकरणलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

सर्वोच्चले पेसीको दिन खानतलासीका क्रममा बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको हो।

अदालतको आदेशसँगै प्रसाईंको घर खानतलासीको कानुनी आधार, प्रहरी कारबाहीको प्रक्रिया तथा बरामद सामग्रीबारे थप न्यायिक परीक्षण हुने भएको छ।