काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर खाना पकाउने ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद पराजुलीले देशभरका ग्यास उद्योगमा पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको बताएका हुन्।
उनका अनुसार अभाव हुने डरले उपभोक्ताले घरमा रहेका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लामो लाइन देखिएको छ।
‘ग्यासको आपूर्तिमा कुनै समस्या छैन। देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध छ,’ उनले भनेका छन्।
उनले ग्यास अभाव हुने आशंकामा आवश्यकता भन्दा बढी सिलिन्डर भर्न खोज्ने प्रवृत्तिले वास्तविक रूपमा तत्काल ग्यास आवश्यक पर्ने उपभोक्तालाई समस्या पर्न सक्ने बताए।
धेरै सिलिन्डर भएका उपभोक्तालाई केही समय धैर्य गर्न आग्रह गर्दै पराजुलीले एउटा मात्र सिलिन्डर भएका तथा ग्यास सकिएर तत्काल समस्या परेका परिवारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
‘अभाव हुने डरले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लाइन बढिरहेको छ। त्यसैले धेरै सिलिन्डर भएका उपभोक्ताले धैर्य गरौँ र एउटै सिलिन्डर भएका तथा ग्यास सकिएर तत्काल समस्या परेका परिवारलाई प्राथमिकता दिऔँ,’ उनले आग्रह गरेका छन्।
पराजुलीले सम्बन्धित डिपोमार्फत उपभोक्ताको वास्तविक आवश्यकताका आधारमा ग्यास वितरण व्यवस्थापन गर्न सकिने बताएका छन्। यस्तो व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सके अनावश्यक भीड र लामो लाइनसमेत घटाउन सकिने उनको भनाइ छ।

.gif)


