काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
सभापति थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्णरूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको बताएका हुन्।
थापाले विगतका सरकारहरूले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै अब थप ढिलाइ गर्न नहुने बताएका छन्।
उनले भनेका छन्- 'अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।'
थापाले २०७४ सालदेखि नै हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।
उनका अनुसार अब एक दशक बित्न लागिसक्दा पनि प्रतिवेदन सार्वजनिक नहुनु गम्भीर विषय हो। विगतका सरकारको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने उनको भनाइ छ।
२०७३ सालमा मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी तथा मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो।
थापाले यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्र सीमित नराखी तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरेका छन्।

.gif)


