काठमाडौं,  कैलाली - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सम्झने, महिनैपिच्छे ४ हजार भत्ता दिने नेकपा एमाले भएकाे बताएका छन् ।

कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘नेकपा एमाले देश बनाउन चाहन्छ भनेर मैले भनिरहनुपर्छ जस्तो लाग्दैन,’ ओलीले भने, ‘ज्येष्ठ नागरिकलाई सम्झने, महिनैपिच्छे ४ हजार भत्ता दिने नेकपा एमाले हो भनेर अहिले मैले सम्झाइरहन पर्छ र? अब त्यो कुरा मैले सम्झाइरहन पर्दैन आफैँ थाहा छ ।’ ओलीले एमाले सामाजिक सद्भाव र राष्ट्रिय एकताका साथ देश बनाउन अघि बढाएको बताए।

त्यस्तै, दार्चुलामा तुइन काटिदिएर नेपालीको मृत्यु हुँदा पनि वर्तमान सरकार भारतसामु चुईंक्क बोल्न नसकेको टिप्पणी गरेका छन् । एमालेको सरकारले गुमेको भूभाग फिर्ता गर्नेदेखि भारतलाई पत्र लेख्नेसम्मको काम गरेको बताए ।

‘नेकपा एमाले जसले गुमेको भूभाग सामेल गरेर नक्सा जारी गर्यो,’ ओलीले भने, ‘संसदबाट संविधान संशोधन पनि गर्यो । भारतलाई पत्र लेख्यो हाम्रो भूमि फिर्ता गर भनेर ।’ तर, अहिलेको सरकार जयसिंह धामीलाई तुइन काटेर खोलामा फालिदिँदा पनि चुइँक्क नबोलेको आरोप ओलीले लगाए ।

‘अहिलेको सरकार जयसिंह धामी तुइन काटिएर खोलामा फालिँदा पनि चुइँक्क बोल्न सकेन’ ओलीले भने । साथै, ओलीले एमालेले देश बनाउन चाहेको कुरा भनिरहन पर्ने जस्तो आफूलाई नलागेको बताए ।