कुनै पनि समुदायमाथिका विभेदहरू सह्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व रङ्गमञ्चमा नेपाल एक सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रामा अगाडि बढिरहेको बताएका छन् ।त्यस्तै ओलीले कुनै पनि समुदायमाथिका विभेदहरू सह्य नहुने पनि बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, 'सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित छ । १२ वर्ष आफैमा धेरै लामो अवधि होइन । गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको थियो । गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ ।'
गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने चेष्टाहरु अनुचित हुन् भन्दै प्रधामन्त्री ओलीले इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि नसक्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौं ।’
'वर्षौदेखि मूर्च्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन् । आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ । आफ्नो निर्णय आफै गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ ' शुभकामना सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ता अन्त्य भएको र आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरूद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित भएको भन्दै संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित भएको बताएका छन् । ‘हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरु ती आकाङ्क्षालाई मूर्त रुप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ’, प्रधानमन्त्रीको भनाई छ । उनले गणतन्त्र स्थापनासँगै हासिल गरेका उपलव्धिहरु गौरवपूर्ण र दूरगामी महत्वकाभएपनि यिनै उपलव्धिमा मात्र आत्ममुग्ध भएर बस्न नमिल्ने स्मरण गराएका छन् ।
फेसबुक पेज Like गर्नुहोस