काठमाडौं - नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ ।

५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको यस बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड  रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंकको ई बैंकिङ्गको प्रयोगकर्ता २३,६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या १७९,७४० रहेको छ । बैंकका डेबिट, क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले विभिन्न प्रकारको सेवा सुबिधा लिंदा विशेष छुटको प्रबन्ध मिलाईएको छ जसका निम्ति बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरु सँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालका विभिन्न सेवा प्रदायकहरु सँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 

बैंकले यस वर्ष विभिन्न जनचेतनामुलक तथा जानकारीमुलक श्रब्य दृश्य सामाग्री पनि सार्वजनिक गरेको थियो । यसै सिलसिलामा आज बैंकले क्यूआर कोड को बारेमा जागरण फैलाउने उद्देश्यका साथ एक श्रब्य दृश्य सामाग्री सार्वजनिक गरेको छ । खुद्रा लेनदेन तथा दैनिक कारोबार गर्न क्यूआर कोडको महत्व समेटेर तयार गरिएको यस श्रब्य दृश्य सामग्रीले आम जनतालाई बैंकिंग सेवासँग चिरपरिचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको  अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । 

पाँच संस्थागत मूल्य र मान्यता—सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता, इमान्दारीता, मिजासिला र सहयोगी जनशक्ती, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित स्थापित यस बैंकले चौध वर्षको समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । “हजुरको प्रगतिको सहयात्री” भन्ने नाराका साथ स्थापित यस बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराई सकेको छ । बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।