काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उपलब्धी हासिल भएको बताएकी छिन् । आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकार सफल भएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन् ।

उनले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामथ्र्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिइन् । समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उनले स्पष्ट पारिन् ।

त्यस्तै, सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड– १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको बताइन् । उनले भनिन्, “सरकारको प्राथमिकता बदलिएका छन् । सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुनेछन् ।” 

त्यस्तै सरकारले देशको जुनसुकै स्थनबाट फोन गरेर एम्बुलेन्स सेवा लिन सक्नेगरी एकीकृत एम्बुलेन्स सेवा मिलाउने घोषणा गरेको छ ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत एम्बुलेन्स सेवा मिलाउने बताएकी हुन् ।