काठमाडौं- रुपन्देहीको भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याइन लागिएको हो ।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।

वायुसेवा निगमले पनि आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम असोज २० गते उद्धार उडान गरिने जनाएको थियो। ‘ए’ ३२० विमानमार्फत काठमाडौं–भैरहवा–काठमाडौं उडान हनेछ।

‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं फर्किने निगमले जनाएको छ। त्यसका लागि काठमाडौंबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ।

उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।