काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल भएको छ । 

कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताबीच झण्डै एक घण्टा छलफल भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । 

विपक्षी गठबन्धन मोर्चा कसेरै सहकार्यलाई जारी राख्नेबारे छलफल भएको ती नेताले जानकारी दिए । आगामी रणनीतिबारे पनि छलफल भएको छ । 

गठबन्धन सरकार बनाउन चुकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् ।  

ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ।  गत सोमबार प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिन सकेका थिएनन्।

बैठकमा नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का,महामन्त्री डा. शशांक कोइराला, पूर्वसभामुख ओन्सरी घर्ती मगरलगायतका नेता उपस्थित थिए ।