काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको पार्टीले एमाले शब्द प्रयोग नगर्ने भएको छ । बुधबार निर्वाचन आयोगमा दल दर्ताको लागि नेकपा एमाले समाजवादी प्रस्ताव गरेको भए पनि त्यसबाट एमाले शब्द हटाइने भएको हो ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भएकोले एमाले शब्द पनि प्रयोग गर्न नमिल्ने भएपछि एमाले शब्दको विकल्प प्रयोग हुने बताइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले आज शुक्रबार फेरि सो समूहले दर्ताको निवेदन दिने तयारी गरेको छ । बिहीबार एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा एमाले शब्द प्रयोग गर्न नमिल्ने भनेपछि त्यसको सट्टा अर्को नामबारे माधव समूहमा छलफल भएको हो ।

स्रोतका अनुसार माधव समूहले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता गर्ने सम्भावना छ ।