काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गरिने बताएका छन् 

‘कोरोनाभाइसर’को सम्भावित प्रकोप जोखिम नियन्त्रणका सन्दर्भमा शनिबार काठमाडौंमा भएको छलफलमा उनले चीनमा अध्ययनरत् विद्यार्थीहरुलाई फिर्ता गर्न दुईओटा जहाज तयारी अवस्थामा रहेकाले आवश्यक परे कुनैपनि बेला उनीहरुको उद्धार गरिने बताएका हुन् ।

मन्त्री भट्टराईले परराष्ट्र मन्त्रालयले चीन सरकार र बेइजिङस्थित नेपाली दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको भन्दै अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए 

उनले कोरोनाभाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको जानकारी गराए ।

कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको भन्दै पर्यटमन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सन्चालन गरिएको बताए ।