सैनिक र प्रहरी श्रीमती संघजस्ता पितृसत्तावादी संस्थाहरु खारेज गर्नुपर्छः नेतृ भुसाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले पितृसत्तावादी संस्थाहरुको खारेजीको माग गरेकी छिन् । नेतृ भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी हुन् ।
उनले आइतबार संसदमा विशेष समय लिएर बोल्दै मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै यस्ता निकायहरु रहनु दुःखद रहेको धारणा राखिन् ।
उनले भनिन्, ‘‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था अन्त्य गरेर आएको भन्दै उनले हामीले अन्त्य गरेका हौं । राष्ट्रप्रमुख शासन प्रमुखसँग सम्बन्ध गाँसेवापत महाराननी हने उनका छोराछोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं ।’
सांसद भुसालले अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान रहने अवस्था दुःखद भएको तर्क राखिन् । सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था अहिले पनि क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने विषय भएको उनको तर्क थियो ।
‘हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा बनेका संस्थाहरु राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ, जनताले निर्वाचित भएका प्रतिनिधि शासकमा बदलिएका छन्,’ उनले भनिन्, ‘राष्ट्रप्रमुख सरकार प्रमुख बनिरहेका छन् । राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी छ ।’
त्यस्ता संस्थाहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेको उल्लेख गर्दै उनले भनिन्, ‘‘गणतन्त्रसँग मेल नखाने, राज्यको स्रोत साधनबाट परिचालन हुने यी सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेज गरियोस् ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस