पशुपतिमा महाशिवरात्रिको तयारी सुरु
काठमाडौं - पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरहेको छ ।
यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख इश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् ।
यस वर्ष महाकुम्भकै कारण पनि साधुसन्तको संख्या बढ्ने अनुमान गरिएको छ । महाशिवरात्रिको तयारीका लागि सोमबार अथवा मंगलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरु तयारीका काम पनि अघि बढाइने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस