काठमाडौं - निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गतेसम्म मिति तोकेको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर (नेकपा एकीकृत समाजवादी) र जसपा फुटेर (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएका छन् ।

फुटेका ती दुवै दलले ९ भदौमा मान्यता पाएका हुन् । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था रहेको छ । आयोगको आइतबार (आज) बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको आयोगले जनाएको छ ।

अब एमालेबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्छ । त्यस्तै जसपाबाट प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ ।